श्रम शक्ति नै राष्ट्र शक्ति हो।

श्रमको सम्मान गरौँ।।

हाम्रो बारेमा

हाम्रो बारेमा

page_content

नेपाल टेलिकममा कार्यरत समस्त कर्मचारीहरुको सामाजिक, आर्थिक र बौद्धिक विकास गरी उच्च मनोबल स्थापित गराई कम्पनीको सर्वोपरि विकास एवं कर्मचारी कल्याण र एकतामा ठोस सहयोग पुगोस् भन्ने उद्देश्यले स्थापित नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) एक प्रजातान्त्रिक ट्रेड युनियन हो । नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU)  दूरसञ्चार संस्थान प्रेसर ग्रुपकाे नाममा  वि.सं. २०४८ श्रावण ६ गते काठमाण्डौंमा गठन भएको थियो । सोही स्थापना दिनको अवसर पारेर NTCWU ले हरेक वर्ष श्रावण ६ गते आफ्नाे वार्षिकोत्सव मनाउँदै आइरहेको छ । 
 
२०४६ सालको युगान्तकारी जनआन्दोलनबाट प्रजातन्त्रको पुन पुनस्र्थापना पश्चात् बनेको नेपाल अधिराज्यको संविधान २०४७ द्वारा प्रदत्त संघ/संस्था खोल्न पाउने हकको सदुपयोग गर्दै ट्रेड युनियन ऐन २०४९ बमोजिम मिति २०५१।०५।२९ गते श्रम कार्यालयमा “नेपाल दूरसञ्चार संस्थान कर्मचारी संघ” को नाममा दर्ता भएको यस युनियन टेलिकम भित्रकै पहिलो ट्रेड युनियन हो । २०६० सालमा तत्कालीन “नेपाल दूरसञ्चार संस्थान” कम्पनीमा रुपान्तरण भएपश्चात् वि.सं. २०६१ सालमा काठमाण्डौंमा सम्पन्न विशेष केन्द्रीय अधिवेशनले नाम परिवर्तन गरी “नेपाल टेलिकम वर्कर्स युनियन” "Nepal Telecom Workers' Union (NTCWU)" राखिएको छ । स्थापनाकालदेखि हालसम्म यस युनियनले केन्द्रीय स्तरमा ३ वटा केन्द्रीय परिषद र ११ वटा महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।  
राष्ट्रिय स्तरमा यस युनियन “नेपाल सार्वजनिक सेवा कर्मचारी संघ (UPSIN) मार्फत ट्रेड युनियन महासंघ “नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) संग र अन्तर्राष्ट्रिय स्तरमा "Union Network International (UNI)" संग आवद्ध भई राष्ट्रिय र अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनमा सक्रिय सहभागिता एवं ऐक्यवद्धता जनाउँदै आइरहेको छ । 

साँगठनिक संरचनाको सन्दर्भमा केन्द्रीय स्तरमा एक केन्द्रीय समिति, सात वटा प्रादेशिक समितिहरु, ७७ वटै जिल्लामा अवस्थित कम्पनीका कार्यालयरुमा इकाई समितिहरुको गठन गरी संगठन बिस्तार तथा सुदृढिकरण गरिएको छ । केन्द्रीय समिति अन्तर्गत विभिन्न समिति र बिभागहरु गठन गरिदा NTCWU लाई समावेशी, सहभागितामुलक र प्रजातान्त्रिक ट्रेड युनियनको पहिचान दिइएको छ भने केन्द्रीय समितिलाई सुझाव, सल्लाह दिन अनुभवी अग्रज नेतृत्वलाई सल्लाहकारमा मनोनयन गर्ने प्रचलन रहेको छ । 

युनियनको तीन दशक लामो चुनौतिपूर्ण यात्रामा उठान गरिएका कैयौं विषयवस्तुहरु पूरा गराउन भएको संघर्षका साथै प्राप्त उपलब्धीहरुलाई स्मरण गर्दा बि.सं. २०५१।०३।१२ बाट थालिएको ४२ दिने रिले अनसन (६ महिनाको बोनस, प्रोत्साहन भत्ता उपलब्ध गराउने लगायत १६ बुँदे सम्झौता), २०५२।०६।०३ देखि थालिएको Price Index को आधारमा प्रत्येक दुई वर्षमा भत्ता समयोजन/बृद्धि गराउने आन्दोलन, २०५३।०३।२३ मा नीजिकरण बिरुद्धको आन्दोलन, अप्रेटर कर्मचारीहरुलाई तह ४ मा व्यवस्थापन गरिएको, २०६१/०६२ मा प्रतिगमन बिरुद्धको आन्दोलन, २०६३ सालमा गरिएको कार्यक्षेत्र संरक्षणको आन्दोलन (CDMA Full Mobility) को लाईसेन्स, घरजग्गाको स्वामित्व कम्पनीमा आउनु पर्ने, GSM मोबाइलको लाईसेन्स नविकरण), २०६३।१०।२९ मा NTCWU र टेलिकम व्यवस्थापन बीच भएको सम्झौता अनुसार २०६४ सालमा करिब १४०० कर्मचारी स्थायी गराउनु तथा सम्पूर्ण कर्मचारीहरुलाई समानुपातिक तवरले कम्पनीको शेयर वितरण गरिनु, कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा व्यवस्थापन गर्न OHS CELL को स्थापना, २०७८ सालमा क्रियाशील युनियनहरुको संयुक्त संघर्ष मार्तफ कम्पनीका प्रबन्ध निर्देशकलाई कार्यकक्षमा प्रवेश रोक गरी ३९ दिन सम्म गरिएको आन्दोलन मार्फत २९ बुँदे सहमति भई नमस्ते पे संचालन, कर्मचारी बिनियमावलीमा संशोधन, योगदानमा आधारित पेन्सन, लामो समयदेखि रोकेर राखिएका वृत्तिविकास र पदपूर्ति बिज्ञापन, कम्पनि पुर्नसंरचना पुनरावलोकन कार्य लगायतका विषयहरु उल्लेखनीय उपलब्धीको रुपमा लिन सकिन्छ । 
 
NTCWU ले दुई पटक आधिकारिक युनियनको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरिसकेको छ । NTCWU को आधिकारिक कार्यकालमा कर्मचारी कल्याण, बृत्तिविकास तथा आर्थिक सुविधा एवं सामाजिक सुरक्षा, कम्पनीको उत्पादकत्व बृद्धि, सेवा विस्तार एवं ग्राहक सेवा सम्बन्ध, कम्पनीको व्यवस्थापकीय सुधारका साथै ट्रेड  युनियन अधिकारको संरक्षण जस्ता महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ । बिभिन्न समयमा यस युनियनका नेतृत्व गणले  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा युनियनको प्रतिनिधित्व गरिएकोछ । हाल यस युनियनका पूर्व अध्यक्ष एवं सल्लाहकार श्री शंकर लामिछाने ज्यू हाल संचालक समितिमा कर्मचारी प्रतिनिधी संचालकका रुपमा रहनु भएको छ । 

ट्रेड युनियन अभियानलाई सशक्त, जिम्मेवार, व्यवस्थित र मर्यादित बनाउन, प्राप्त उपलब्धीहरुको रक्षाको प्रत्याभूति गर्न, श्रमिकहरुको मनोवल उच्च बनाई ट्रेड युनियन अधिकारको संरक्षण गर्नका लागि NTCWU ले अग्रणी भूमिका निर्वाह गरिरहेको छ । आगामी दिनमा चुनौतीहरुलाई अवसरमा परिणत गर्न र समग्र ट्रेड युनियन आन्दोलनलाई थप उचाइमा पुर्याउन स्पष्ट दृष्टिकोणयुक्त ट्रेड युनियन वर्तमान समयको माग हो र तीन दशक भन्दा लामो हाम्रो नेतृत्वदायी भूमिकाले यी चुनौतिहरुलाई तार्किक निश्कर्षमा  पुर्याउन सक्ने क्षमता NTCWU ले राख्न सक्दछ भन्ने पुष्टी गर्दछ ।